फागुन अन्त्यसम्म राष्ट्रिय सम्मेलन

लक्ष्मी ढकाल – अध्यक्ष, अखिल नेपाल सेक्युरिटी मजदुर संघ
१९ माघ ०७८, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघले फागुन अन्त्यसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बुधबार संघको अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतमा बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको महासचिव मानबहादुर थिङले जानकारी दिएका छन् ।
महासचिव थिङले राष्ट्रिय सम्मेलनपूर्व मूल इकाई, जिल्ला र प्रदेश समितिहरुको भेला सम्मेलन गरिसक्ने साथै दर्ता नवीकरणको कार्यलाई पनि निरन्तरता दिने निर्णय बैठकले गरेको बताए ।
यस्तै संघका अध्यक्ष लक्ष्मी ढकालले संघको विधानलाई समयानुकूल बनाउन अखिल नेपाल ट्रेड युनियन महासंघको विधानअनुरुप आवश्यक संशोधन तथा परिमार्जन गरिने बताए ।
उनले संघका पदाधिकारीसहित सातै प्रदेश अध्यक्षहरु सम्मिलित विधान संशोधन तथा परिमार्जन समिति बनाइएको बताए ।
यसैगरी अध्यक्ष ढकालले जिफोरएस लगायतका सेक्युरिटी कम्पनीहरुमा भइरहेका संघर्षलाई निरन्तरता दिँदै श्रम विभाग र श्रम कार्यालयलाई सामाजिक सुरक्षा कोषमा नजाने कम्पनीहरुको नवीकरण कार्य रोक्न आग्रह गर्ने र सूचीकृत नगर्नेको इजाजत खारेजी गर्न, गराउन दबाव दिने लगायतका निर्णय आजको बैठकले गरेको बताए ।
उनले भने, ‘संगठनभित्रै श्रमजीवी सेक्युरिटीविरुद्ध गतिविधि गर्ने, श्रमिकको हितविपरीत आर्थिक कार्य गरेको पाइएमा संगठनका जुनसुकै तहका नेता तथा कार्यकर्तालाई सांगठनिक कारवाही गरिनेछ साथै दलाल कम्पनीको भण्डाफोर गर्दै आवश्यक संघर्ष अघि बढाइनेछ ।’
बार्गेनिङ गरेर सेक्युरिटी संगठनमा आफ्नो अस्तित्व कायम गर्न खोज्ने र ठेकेदारको इमानदार नेता बन्न खोज्नेहरुका दिन सकिएको भन्दै अध्यक्ष ढकालले त्यस्तालाई अब निर्माण गरिने युवा सेक्युरिटी फोर्सले ठिक ठाउँमा ल्याउने समेत बताए ।