६ बैशाख ०७९, काठमाडौं । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा दलीय भागबण्डा गरेका छन् ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसलाई र नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी साथै जनता समाजवादी पार्टीले एक÷एक महानगरको प्रमुख पद लिने गरी दलीय सहमति गरेका हुन ।
स्रोतकानुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका, जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व लिने सहमति जुटेको छ ।
यस्तै महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको गठबन्धनले उपमेयरको भागवण्डा पनि मिलाएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, ‘गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरको उपमेयर दिने गरी भागवण्डा मिलाएका छौं ।’
सहमति अनुसार काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ ।
यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछ भने बिराटनगरमा जसपाले उममेयरको टिकट लिने सुनिश्चत गरेको छ ।