५ असार, काठमाडौं । अहिले एसएलसीमा सहभागी भएका विद्यार्थीले १२ कक्षामा फेरि एसएलसी दिनुपर्छ कि पर्दैन त ? धेरैलाई चासो छ । राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी ‘नयाँ शिक्षा ऐन’ अनुसार अर्को वर्षदेखि १० कक्षामा एसएलसी परीक्षा हुँदैन । तर ऐनले १२ कक्षासम्मै विद्यालय तहको व्यवस्था गरेकाले १० कक्षाको सट्टा १२ कक्षामा एसएलसी परीक्षा हुन्छ ।
यो व्यवस्था अनुसार अहिले १० कक्षामा पढेका विद्यार्थीले १२ मा मात्र एसएलसी दिनुपर्छ । किनभने, अहिले एसएलसी दिएका विद्यार्थी ११ कक्षामा भर्ना भएर पढिरहँदा नयाँ ऐन लागू भैसकेको हुन्छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार परीक्षा पद्दति कस्तो हुन्छ भन्ने त तय हुन बाँकी छ, तर अहिले १० मा पढिरहेका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा र अहिले एसएलसी दिएका विद्यार्थीले १२ कक्षामा दिने परीक्षा उस्तै ढाँचाको हुनेछ ।
‘नयाँ ऐन अनुसार विद्यालय तहको अन्तिम खुड्किलो १२ कक्षामा हुने परीक्षा अहिलेको एसएलसीको जस्तै ढाँचामा हुन्छ कि फरक हुन्छ भन्ने तय हुन बाँकी छ’ प्रवक्ता डा.लम्सालले भने, ‘नयाँ ऐन लागू भएपछि बन्ने राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्नेछ । कक्षा ८ को जिल्लास्तरमा, १० को प्रदेश स्तरमा र १२ को केन्द्र स्तरमा परीक्षा हुने चाहिँ तय भैसकेको छ ।’
विद्यार्थीले हरेक कक्षामा परीक्षा दिने भएकाले अब हुने १२ को परीक्षा पनि सामान्य हो भनेर बुझ्दा राम्रो हुने प्रवक्ता डा.लम्सालले बताएका छन् ।