१३ कार्तिक ०८०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण सकेर अपरान्ह पर्यटकीयनगरी पोखरा जाँदैछन् ।
चारदिने नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटरेस बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।
उनले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा स्थानीयसँग कुराकानी गर्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालयकाअनुसार महासचिव गुटरेसले सगरमाथा क्षेत्रको अवलोकन गरेर फर्केलगतै ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालय टोलीसँग छलफल गर्नेछन् । साथै, अपरान्ह पोखरा भ्रमणका लागि निस्कने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनी अन्नपूर्ण आधार शिविर र लुम्बिनी पनि जाने छन् ।
सङ्घीय संसद् सचिवालयले दिएको जानकारीअनुसार कार्तिक १४ गते अपरान्ह ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा यही कार्तिक १२ गते आएका युएनका महासचिव गुटरेस कार्तिक १४ गते काठमाडौंबाट प्रस्थान हुनेछन् ।