अखिल विद्यार्थी र प्रहरीबीच झडप, उपाध्यक्ष र महासचिव घाइते

१८ पुस ०७४, काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

मंगलबार दिउँसो अनेरास्ववियुले गरेको विरोध प्रदर्शनमा त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको हो । विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको थियो ।

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेपछि विद्यार्थीले पनि ढुङ्गा हानेकाले प्रहरीले भिड तितरवितर गर्न  अश्रुग्यास प्रहार गरिएको थियो ।

लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् । बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिए । दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाइको मत