अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात कारागार चलान

२८ मंसिर ०७७, काठमाडौं । ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई आइतबार थुनामा राख्ने आदेश दिएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयकाअनुसार तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाइ मुद्दाको बाँकी प्रक्रियामा सहभागी गराउन अदालतबाट आदेश भएपछि बस्न्यातलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

बस्न्यातमाथि अख्तियारले सरकारी सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको, बदनियतपूर्ण लिखत तयार पारेको साथै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव रहँदा उनले मोहीका नाममा जग्गा कायम गर्नेगरी प्रस्ताव लगेको अभियोग अख्तियारले लगाएको छ ।

दोषी ठहर भएमा बस्न्यातमाथि सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेको, गलत लिखत तयार पारेकोमा सजाय हुनेछ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिका हैसियतमा थप सजाय पनि हुनेछ ।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ६५ जनालाई जग्गा जफतको हकमा मात्र विपक्षी बनाइएको छ भने बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

फरार बनाइ विपक्षी बनाइएका बस्न्यात आइतबार उपस्थित हुने निवेदन लिएर अदालत पुगेका थिए भने अदालतमा उपस्थित भएका उनले आफूमाथिको अभियोग स्वीकार समेत गरेका थिए ।