१५ भदौ ०७४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गैरकानुनी सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला आयोगले करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ ।
अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् ।
‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन् । त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ,’ स्रोतले भन्यो, ‘कानुनतः छानबिन गोप्य हुने भएकाले र भाग्न र प्रमाण लोप गर्नसक्ने अवस्थाका कारण पनि नाम सार्वजनिक गर्न मिल्दैन ।एक दुई सातामै लक्षण थाहा हुनेछ ।’
अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो । स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिएको छ ।
अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको छ ।
मालपोत कार्यालयबाट लिखत झिकाएर केलाएर हेरेपछि उनीहरूको बैंक लकर र घर जग्गा रोक्काको कारबाहीमा जाने पूर्वतयारीमा अख्तियार छ । स्रोतका अनुसार सबै क्षेत्रबाट शंकास्पद व्यक्ति छानेर अकुतको कारबाहीमा उत्रने तयारीमा अख्तियार रहेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।