
अख्तियार प्रमुख लोकमानसिंह कार्की
२० असोज, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति पुनरावलोकन गर्ने निर्णय गरेपछि म्याद बुझ्न अस्वीकार गर्दै आएका कार्कीको घरमा म्याद सूचना टाँस गर्न पुगेका सर्वोच्चका कर्मचारी घरधनी नभेटेर त्यसै फर्किएका छन् ।
अख्तियार प्रमुख कार्की टंगालस्थित अख्तियार क्वाटरमै कडा सुरक्षा घेरामा बस्दै आएको थाहा हुँदा हुँदै पनि सर्वोच्चका तामिल्दार शम्भु खड्का नेतृत्वको टोली बुधबार बानेश्वर रोहिणीमार्गस्थित कार्कीको घरमा उत्प्रेषणयुक्त परमादेशको सूचना टाँस गर्न पुगेका छन् ।
सर्वोच्चका कर्मचारी घरमा पुगेपछि गेट बाहिर निस्किएका युवकले आफूहरु भाडामा बस्दै आइरहेको र घरबेटी घरमा नबस्ने बताएपछि सर्वोच्चका टोली कार्कीको घरमा सूचना नटाँसी फकिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की टंगालस्थित अख्तियार क्वाटरमा कडा सुरक्षा घेरामा बस्दै आएका छन् ।