२६ चैत ०७६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका व्यापारिक घराना शुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।
किर्गिस्थानका लागि नेपाली अवैतनिक दूत, जगदम्बा सिमेन्ट-स्टीलका मालिक, शंकर ग्रुपको डाइरेक्टर समेत रहेका व्यापारी अग्रवालले निलो रंगको नम्बर प्लेटको गाडी प्रयोग गरेर ‘थर्मल गन’ बिक्री गरिरहेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
कोरोना भाइरसको महामारीविरुद्ध देश र जनता लडिरहेका बेला कूटनीतिज्ञको धज्जी उडाउँदै ३ हजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) लाई चर्को मूल्य १६ हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको अग्रवालको साथबाट ‘६६ थान’ थर्मल गन बरामद भएको प्रहरीले जनाएको छ ।
बनावटी खरिदकर्ता (प्रहरी) र अग्रवालबीच सोमबार भएको घटनाक्रमलाई जोड्दै महाशाखाका एसएसपी सहकुल थापाले भने, “उनले प्रति गन १६ हजार पर्ने बताए । हामीले केही छुट मागेपछि उनी १५ हजारको दरमा दिन राजी भए । मंगलबार बिहान हाम्रो गाडीमा ‘मेडिकल किड्स सप्लायर्स’ लेख्यौं । टोली टेकुबाट ११ बजे नक्साल पुग्यौँ । र, पक्राउ गर्न सफल भयौं ।”
महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंहका अनुसार एउटा गनबाट कम्तिमा पनि १० हजार रुपैयाँ बढी लिएको पाइएको छ ।
कानुनविदहरुकाअनुसार अग्रवाललाई लगाइएको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय हुन सक्छ । साथै, उनको कूटनीतिक प्रतिनिधि खोसिन सक्छ । उनलाई प्रहरीले कालोबजारी ऐन अनुसार मुद्दा चलाउने तयारी गरिरहेको छ ।