२२ फागुन, काठमाडौं । स्वास्थ्य संस्थाहरुमा लगाएको ताला फोडेर सेवा सुचारु गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । साथै, ताला लगाउने र अत्यावश्यक सेवा सञ्चालनमा अवरोध गर्नेलाई कारबाही गर्न भनेको छ ।
हेल्थपोष्ट प्रमुख बनाउनु पर्ने माग गर्दै सिनियर अहेबहरुले स्वास्थ्य संस्थाहरुमा तालाबन्दी गरेका छन् । र, कतिपय जिल्लाहरुमा राष्ट्रिय पोलियो खोप अभियान नै अवरुद्ध पारेका छन् ।
गृह मन्त्रालयले आइतबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेर पोलियो थोपा खुवाउने अभियानका लागि सुरक्षा र स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दी खोलेर सेवा सुचारु गर्ने प्रवन्ध मिलाउन निर्देशन दिएको छ ।
गृहको परिपत्रमा भनिएको छ, ‘तालाबन्दी गर्ने, अवरोध खडा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा व्यवधान गर्ने कार्यमा संलग्न जोसुकै व्यक्ति कर्मचारी भएपनि पक्राउ गरी प्रचलित कानुुन बमोजिम कारबाहीको दायरामा ल्याउने व्यवस्था हुन समेत आदेश अनुसार अनुरोध छ ।’