अदालतको आदेश : सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस ०८०, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सहित ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन आदेश गरेको हो ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्र्रप्रसाद पन्थीले जानकारी दिए ।

अदालतले सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर भएको छ ।’

पन्थीले जरिवाना बापतको ३ लाख रुपैयाँ पीडितलाई नै भराउने भनी आदेश भएको हो ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।