अदालतको फैसला कार्यान्वयन नभएपछि विद्यालय र गाउँपालिका बीच विवाद सुरु

२५ बैशाख ०७७, राजविराज । सप्तरीको नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराका हकभोग जग्गामा महादेवा गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेपछि विद्यालय र गाउँपालिका बीच विवाद सुरुभएको छ ।

जिल्ला अदालत सप्तरी र उच्च अदालत जनकपुर ईजलासको फैसलामा सप्तरीको महादेवा गाउँपालिका – १ स्थित कित्ता नम्बर ७७ को क्षेत्रफल २–१५–१० जग्गाको पूर्व–दक्षिणतर्फ रहेको जग्गा  विद्यालयको हक भोगमा रहेको भनिए पनि महादेवा गाउँपालिकाकाले सो जग्गामा पर्खाल लगाउन सुरुगरेपछि विद्यालय र पालिकाका बीच विवाद सुरुभएको हो ।

निर्माण कार्य रोक्न महादेवा गाउँपालिकालाई निवेदन दर्ता गर्न जाँदा लकडाउनको कारण देखाई गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले जाहेरी लिन नमानेको विद्यालय स्रोतले जनाएको छ ।

यद्यपि, गत सोमबार बिद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको जग्गामा थप निमार्ण कार्य नगर्न महादेवा गाउँपालिका कार्यालय बथनाहा, जिल्ला प्रशासन कार्यालय सप्तरी, प्रहरी चौकी पकरी, १ नम्बर वडा कार्यालय पकरीलाई बोधार्थ दिएको छ ।

स्थानीयको विरोधको कारण गापा अध्यक्ष यादवले पर्खाल निर्माण कार्य रोकेको बताएका छन् । तर, गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रामलखन यादवले प्रहरीको सहयोगमा पर्खाल लगाउने काम गरिरहेको स्थानीय जुडीलाल यादवले बताएका छन् ।

अध्यक्ष यादवको एकल निर्णयबाट उक्त विवादित जग्गामा श्री भगवती काली मन्दिरको पर्खाल, मार्बल, भण्डार कोठा निर्माण कार्यका लागि करिब १५ लाख रुपैयाँ छुट्याइएको बताइएको छ ।

उक्त मन्दिर गापाका निमित्त प्रशासकीय अधिकृत रामलखन यादवको बुबा बेचन यादवले निमार्ण गरेका थिए ।