अदालतको फैसला प्रतिशोधपूर्ण रहेको मुसर्रफको भनाई

काठमाडौं । पाकिस्तानको एक उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको मृत्युदण्डअघि नै मृत्यु भए तीन दिन शवलाई झुण्ड्याउन आदेश दिएको छ ।

लाहोर उच्च अदालतले गतहप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनु पर्ने उल्लेख गरेको छ ।

पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।

पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैँलाई राष्ट्रपति घोषित गरे ।

मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष रहेको छ । यद्यपि, उनका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् ।

हाल उपचारका लागि युएईमा ७६ वर्षीय मुसर्रफले अस्पतालबाटै भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका छन् ।