अदालतमा विचाराधीन मुद्दामाथि टीकाटिप्पणी नगर्न सर्वोच्चको अनुरोध

१३ साउन ०७७, काठमाडौं । सर्वोच्च अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्नेगरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।

अदालतको पछिल्ला फैसलामाथि विभिन्न टिप्पणी हुन थालेपछि सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गरेर न्याय सम्पादनमा प्रभाव पर्नेगरी समाचारको प्रवाह र टीकाटिप्पणी नगर्न अनुरोध गरेको हो ।

‘सर्वोच्च अदालतबाट भएका काम कारवाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भैरहेका समाचार, टीकाटिप्पणी र गतिविधिहरुको सम्बन्धमा सर्वोच्च अदालतको ध्यानाकर्षण भएको छ,’ ‘सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्नेगरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्नसमेत सम्बद्ध सबैमा अनुरोध छ ।’

यस्तै न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्चाउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरूप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको बेहोरा विदितै रहेको भन्दै विज्ञप्तिमा निश्चित सीमा र मापदण्डभित्र रहेर गरिने स्वस्थ आलोचना वा टिप्पणीप्रति अदालत सदैव सकारात्मक रहेको उल्लेख छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको वेञ्चबाट आफ्नै पत्नी हत्याको आरोपमा जन्मकैद भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला भएपछि विभिन्न टिकाटिप्पणी, आलोचना भइरहेको छ भने सर्वोच्चले सो मुद्धा पुनरावलोकन गर्ने अनुमति दिइसकेको छ ।