अदालतले भन्यो : कोरोना संक्रमितको दाहसंस्कारमा नातेदारले चाहे उपस्थित हुने व्यवस्था मिलाउनु

९ भदौ ०७७, विराटनगर । उच्च अदालत विराटनगरले मृतकका आफन्तले चाहेमा कोभिड-१९ बाट मृत्यु हुने व्यक्तिको अन्तिम संस्कारमा उपस्थित हुने व्यवस्था मिलाउन आदेश दिएको छ ।

विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सोमबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले यस्तो आदेश दिएको हो ।

‘उपचारको क्रममा कुनै संक्रमितको मृत्यु भएमा निजको दाहसंस्कारमा आफन्त नातेदारको उपस्थित हुने अधिकार रहने हुँदा मृतकका आफन्तले चाहेमा सुरक्षाको मापदण्डको अधीनमा रहेर उपस्थित हुने व्यवस्था मिलाउनु’ अदालतको आदेशमा भनिएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको निधन भएकोमा मृतकको अन्तिम संस्कार नेपाली सेनाले गर्दै आइरहेको छ ।

कोभिड– १९ अस्पतालमा उपचाररत् विराटनगर– ३ का ५७ वर्षीय सीताराम दाहालको गत साउन २८ गते मृत्यु भएपछि छोरी निलिमाले होम आइसोलेसनमा निगरानी नगरिएको, साथै उपचार प्रक्रियाबारे जानकारी नदिइएको र मृत्यु संस्कारमा सहभागी समेत नगराइएको भनी प्रदेश १ सरकार, विराटनगर महानगरपालिका, कोशी अस्पतालसहितका निकायलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।