२८ चैत ०७६, काठमाडौं । सर्वोच्च अदालतले अदालती कामकारवाही सरकारले कोरोना संक्रमणको अवस्थाको प्रभाव मूल्याङ्कन गरी तोकिएको अवधिसम्म बन्दाबन्दी हुने जनाएको छ ।
शुक्रबार सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७७ बैशाख ३ गतेसम्मका लागि बन्दाबन्दी अवस्थाको व्यवस्थापनलाई निरन्तरता दिने बताइएको हो ।
“नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६ चैत्र २४ गते बसेको वैठकको निर्णयबाट कोरोना संक्रमणको अवस्था र बन्दाबन्दीको प्रभाव मूल्यांकन गरी बन्दाबन्दीको अवधिलाई २०७७ वैशाख ३ गते रातीसम्मको लागि थप गरेको अवस्था हुँदा पूर्ण वैठकको उल्लिखित निर्णय बमोजिम गरिएको व्यवस्थापनको अवधिलाई थप गर्न आवश्यक देखिएकोले आगामी वैशाख ३ गतेसम्मका लागि बन्दाबन्दी अवस्थाको ब्यवस्थापनलाई निरन्तरता दिने” विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विज्ञप्तिमा सम्बत् २०७७ साल वैशाख ३ गते रातीसम्मको लागि बन्दाबन्दीको अवधि थप भएको र सो अवधिपश्चात पनि नेपाल सरकारबाट बन्दाबन्दीलाई निरन्तरता दिइएमा सो अनुरुप थप हुन जाने अवधिसम्म अदालतको कार्य सञ्चालनसम्बन्धी निर्णय नं . १ बमोजिमको ब्यवस्थापनलाई पनि स्वतः निरन्तरता दिने उल्लेख गरिएको छ ।
यस्तै बन्दाबन्दीको अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड–१९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई, पक्राउ अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन, मुलुकी फौजदारी कार्यवधि संहिता, २०७४ को दफा १५५ अनुसारको रकम तिरी कैदबाट छोडिपाऊँ भन्ने निवेदन र बालसुधार गृहमा रहेका बालबालिकालाई अभिभावक वा संरक्षकको जिम्मा लगाई पाऊँ भन्ने निवेदन दर्ता र सो उपरको कारवाही पूर्व निर्णयअनुसार नियमितरुपमा सम्पादन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रेस विज्ञप्तिमा ०७६ चैत १२ को आकस्मिक पूर्ण बैठकको निर्णयबमोजिम अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य यसबीचको अवधिमा स्थगन तथा सो सम्बन्धी सेवा प्रवाह बन्द गरिएकोमा बन्दाबन्दीको अवधि लम्बिदै गएको र अनुसन्धान तहकिकातको क्रममा हिरासतमा रहेका व्यक्तिहरुको सुरक्षित जीवनको हक तथा वैयक्तिक स्वतन्त्रताप्रति विशेष रुपमा संवेदनशीलता अपनाउन आवश्यक देखिएको हुँदा अभियुक्तलाई अनुसन्धान तहकिकातका लागि हिरासतमा राख्न अनमति दिने (म्याद थप गर्ने), अभियोग पत्र दर्ता गर्ने, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने सम्बन्धी कार्य आजदेखि नै नियमितरुपमा गर्ने, गराउने उल्लेख गरिएको छ ।