अध्यक्ष प्रचण्ड र चीनियाँ राजदूत यु होङबीच भेट

५ असार ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ ।

आइतबार बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत होङ अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा खुसी व्यक्त गरिन् । सो अवसरमा होङले प्रचण्डको १० महिने प्रधानमन्त्री काल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गरिन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो १० महिने प्रधानमन्त्री काल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे ।

तपाइको मत