१९ चैत ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले कोरोना भाइरस (कोभिड–१९) राहत तथा विपद व्यवस्थापन कमिटी गठन गरेको छ ।
महासंघका अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा बसेको अनलाइन भिडियो बैठकले उपाध्यक्ष जय कार्कीको संयोजकत्वका “कोरोना भाइरस (कोभिड–१९) राहत तथा विपद व्यवस्थापन कमिटी” गठन गरेको हो ।
कार्कीको संयोजकत्वमा गठित राहत तथा विपद व्यवस्थापन कमिटीमा महासंघका परिषद् संयाेजकहरु र सातै प्रदेशका अध्यक्षहरु सदस्य रहने उपमहासचिव शालिकराम काफ्लेले जानकारी दिए ।
उपमहासचिव काफ्लेका अनुसार यस कमिटीले कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउनमा गइसकेपछि सरकारले स्थानीय तहमार्फत् वितरण गरिरहेको राहतलाई नजिकबाट अनुगमन गर्नेछ भने वास्तविक संटकमा परेका श्रमजीवी मजदुरहरुलाई राहत तथा विपद व्यवस्थापन गर्न समन्वयकारी भूमिका खेल्नेछ ।
गत डिसेम्बरबाट विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको संक्रमित नेपालमा पनि भेटिएपछि सरकारले यही चैत ११ गतेदेखि १८ गतेसम्म अत्यावश्यक काममा बाहेक घरमै बस्न आदेश जारी गरेको थियो । सरकारले सो अवधि थप गरेर चैत २५ सम्म लागू हुने घोषणा गरेसँगै चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी र मजदुरी गरेर खाने वर्गलाई मध्यनजर गर्दै स्थानीय तहमार्फत् राहत दिने निर्णय गरेको थियो ।
यसैबीच सांसद समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले गत शुक्रबार (चैत १४ गते) एक महिनाको तलब “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमित भेटिएको छ भने देशभर ९९ जना आइसोलेसनमा राखिएको छ । साथै, १ जना निको भइसकेको छ । यस्तै ११ सय ४५ जनाको परीक्षण भएकोमा ११ सय ४० जनामा संक्रमण देखिएको छैन् ।
विश्वभरि ३७ हजार २ सय ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने ७ लाख ८३ हजार ३ सय ६० जना संक्रमित रहेको डब्लुएचओले जनाएको छ ।