दैनिक ज्यालादारी गर्ने ७० परिवारलाई अन्टुफद्वारा राहत वितरण

१४ बैशाख ०७७, ललितपुर । अखिल नेपाल ट्रेड युनियन महासंघका सचिवालय सदस्य निरज गोलेको अगुवाईमा दैनिक ज्यालादारी र गलैंचा उद्योगमा काम गर्ने मजदुरलाई राहत वितरण गरिएको छ ।

ललितपुरको बालकुमारीस्थित गलैंचा उद्योगमा कार्यरत मजदुर र दैनिक ज्यालादरी गर्ने
७० परिवारलाई राहत वितरण गरिएको हो ।

सरकारले जारी गरेको लकडाउनका कारण दैनिकीमा समस्या परेका मजदुरहरुलाई चामल, दाल, तेल, नुन, साबुन लगायतका सामाग्री बितरण गरिएको अन्टुफ सचिवालय सदस्य गोलेले जानकारी दए ।

उनले उक्त राहत सामाग्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका संरक्षक चिनिया लामाले उपलब्ध गराएको बताए ।

राहत बितरणमा गलैंचा मजदुर संघ ललितपुरका अध्यक्ष गणेश लामा, बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाहकार मनिष गोङ्बा लगायतको उपस्थिति थियो ।

संघर्षको अगुवाई गर्न तयार
यसैबीच अन्टुफ प्रदेश नं. १ ले सुनसरी–मोरङ करिडोरका उद्योगी व्यवसायीहरुले मजदुरहरुलाई तलब सुविधा दिन नसक्ने समाचार प्रकाशित भएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्टुफ प्रदेश अध्यक्ष टीका प्रसाईंले गतबुधबार एक प्रेस विज्ञप्ति जारी गरेर मजदुरहरुलाई लकडाउन अवधिमा पूर्ण तलब-भत्ता सुविधा उपलब्ध गराउन आग्रह गर्दै मजदुरको रोजीरोटी गुम्ने अवस्था आए आफूहरु संघर्षको अगुवाई गर्न तयार रहेको बताएको छ ।