२५ चैत्र ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले “श्रम एेन र सामाजिक सुरक्षा काेष एेन कार्यान्वयन गराैं, समाजवादी क्रान्तिकाेे अाधार तयार पार्दै १२९अाैं मे दिवस भव्य रुपले सफल पाराैं” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाउने भएको छ ।
हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने ‘मे दिवस’काे सन्दर्भमा अाइतबार महासंघकाे कार्यालय काेटेश्वरमा बसेकाे उपत्यकामा उपलब्ध पदाधिकारी र पेशाका नेतृत्वकाे बैठकले मे दिवसलाई समाजवादी क्रान्तिकाे अाधार तयार गर्ने कार्यक्रमका रुपमा मनाउने निर्णय गरेकाे हाे ।
बैठकले एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको सन्दर्भमा श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाउने, रक्तदान गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।
महासंघका अध्यक्ष गणेश रेग्मीले २०७५ बैशाख १० देखि १३ गतेसम्म प्रचारप्रसार गर्ने, १४ गते श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १६ गते रक्तदान गर्ने र १८ गते मजदुर र्यालीसहित भव्यरुपमा मे दिवस मनाउने निर्णय भएको जानकारी दिए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै अध्यक्ष रेग्मीले सामाजिक सुरक्षा काेष एेन र श्रम एेन कार्यान्वयनलाई अान्दोलनकाे रुपमा अघि बढाउनुपर्ने बताए ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकार प्राप्तिको स्मरण गराउने गौरवशाली दिनका रूपमा विश्वभर ‘मे दिवस’ मनाइन्छ ।