
ललितपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ र आईएलओले ललितपुरको गोदावरीमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग संयुक्त अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा रोजगारी सिर्जना, सामाजिक सुरक्षाको कार्यान्वयन र श्रम ऐन लागू गर्ने तहमा श्रमिकहरुको प्रतिनिधित्वका विषयमा छलफल गर्दै आइरहेको अन्टुफ र आईएलओले गोदावरीमा जनप्रतिनिधिहरुसँग संयुक्त अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
उपत्यकामा स्थानीय तहका मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरु साथै कर्मचारीहरुसँग वृहत अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दै आइरहेको अन्टुफ र आईएलओले गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधि साथै ४ वडाका सरकारी कर्मचारीहरुको उपस्थितिमा ‘स्थानीय रोजगारका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

अन्टुफका कार्यबाहक अध्यक्ष गणेश रेग्मीले स्थानीय निकायबाट श्रमिकहरुले अपेक्षा गरेका विविध विषयलाई समेटेर कार्यपत्र प्रस्तुत गरेपछि सहभागीहरुबीच छलफल चलाइँदै आएको संयुक्त कार्यक्रमको संयोजन अन्टुफ उपाध्यक्ष धन बहादुर विकले गरेका छन् ।
यसैगरी कार्यक्रममा महासंघका उपाध्यक्ष तथा ३ नम्बर प्रदेश इन्चार्ज जय कार्कीले नियमित सहभागिता जनाई श्रमिकका हक अधिकारबारे चर्चा गर्दै आइरहेका छन् भने हालसम्म विभिन्न पेसागत संगठनमा आवद्ध करिब ३५० जना श्रमिकहरुले छलफलमा सहभागिता जनाइसकेका छन् ।
अहिलेसम्म काठमाडौं जिल्ला अन्तरगतको गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकामा ‘स्थानीय रोजगारका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भइसकेको छ ।
केही दिनमै काठमाडौं महानगरपालिका साथै कीर्तिपुर नगरपालिकामा अन्तरक्रिया गरिने कार्यक्रमका संयोजक धन बहादुर विकले जानकारी दिए ।













