अन्टुफ र फेडेरेशनबीच एकता : पदीय बार्गेनिङ्ग गर्दा समाजवादी संगठन न यता, न उता !

६ चैत्र ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन फेडेरेशनबीच एकता सम्पन्न भएको छ । एकतापछि संगठनको नाम ‘अखिल नेपाल ट्रेड युनियन महासंघ’ नै राखिएको छ ।

मंगलबार अन्टुफ केन्द्रीय कार्यालय पेरिसडाँडा काेटेश्वरमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र गणेश साह नेतृत्वको नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेशन बीच एकता भएको हो ।

महासंघ र फेडेरेशन अाैपचारिकरुपमा एकता भएसँगै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेेेग्मी र नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्कीले संयुक्त हस्ताक्षरित प्रेस वक्तव्य जारी गरेका छन् ।

संयुक्त प्रेस वक्तव्यमा सामाजिक सुरक्षा एेन र श्रम एेन कार्यान्वयनकाे चरणमा रहेकाे उल्लेख गर्दै एकताले ट्रेड युनियन अान्दोलनलाई शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

“सामाजिक सुरक्षा एेन २०७४ र श्रम एेन २०७४ नेपालकाे व्यवस्थापिका संसदबाट पारित भई कार्यान्वयनकाे चरणमा हुन लागेकाे यस ट्रेड युनियन बीचको बृहत एकताले नेपाल ट्रेड युनियन अान्दोलनलाई अझ बढी शक्तिशाली र सुदृढ बनाउने विश्वासका साथ एकता कार्यक्रम सम्पन्न भएको छ” संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।

सोमबार नै महासंघ र फेडेरेशनबीच संयुक्त प्रेस वक्तव्य जारी गरी एकता घोषणा गर्ने अन्तिम टुङ्गो लागिसकेको थियो तर नयाँ शक्ति पार्टीसँग अलग रहिआएका केही मजदुरहरुले पनि उक्त एकता प्रक्रियामा सहभागी हुने जनाउ दिएसँगै एकता कार्यक्रम एकदिन पछि सरेको थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन ईन्चार्ज जयपुरी घर्ती मगरले तीन वटा संगठनका बीच एकता गर्न विशेष पहल गरे पनि बाबुराम भट्टराई नेतृत्वको अखिल नेपाल समाजवादी ट्रेड युनियनबाट छुट्टिएर अाएका केही मजदुरहरु पदीय भागबण्डामा असहमति जनाउँदै मंगलबारको एकता कार्यक्रममा सहभागी भएनन् ।

अन्टुफ र फेडेरेशनद्वारा जारी संयुक्त प्रेस वक्तव्यकाे पूर्णपाठ :

तपाइको मत