अन्टुफ र मेमुर-सेन बीच ७ बुँदे सम्झौतामा हस्ताक्षर

७ असोज ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र सार्वजनिक सेवक ट्रेड युनियन संगठन (मेमुर-सेन) बीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यालयमा दुई संगठन बीच भएको छलफलपछि मेमुर–सेनका उपप्रमुख गुनाय काया र अन्टुफका कार्यवाहक अध्यक्ष गणेश प्रसाद रेग्मीले ७ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सात बुँदे सम्झौतामा हस्ताक्षर गर्दै अन्टुफका कावा अध्यक्ष गणेश रेग्मी-बायाँ र मेमुर-सेनका उपप्रमुख गुनाय काया-दायाँ ।

सम्झौतामा हस्ताक्षर भएसँगै दुबै पक्ष विश्वव्यापी अवस्था, विश्व अर्थव्यवस्थामा भएका परिवर्तनहरूसँगै एकापसमा अधिकार, स्वतन्त्रता र द्विपक्षीय लाभका लागि दीर्घकालिन सम्बन्ध कायम गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

मेमुर–सेनका उपप्रमुख कायाले परिस्थितिको आश्वासन र अन्तर्राष्ट्रिय सम्झौताहरुलाई समेत दृष्टिगत गर्दै उचित श्रम र परिवर्तनको पक्षमा दुई संठगन बीच ऐतिहासिक सम्झौता भएको बताए ।

सात बुँदे सहमतिमा भनिएको छ :

१) ट्रेड युनियनका गतिविधि साथै कार्यक्षेत्रका अनुभव आदान–प्रदान गर्ने ।
२) जनता र संगठनहरूबीच पारस्परिक र लाभकारी सम्बन्ध निर्माण गर्न सहयोग गर्ने ।
३) ट्रेड युनियनसँग सम्बन्धित साहित्य, समाचारपत्र, पत्रपत्रिका र अन्य सामग्रीहरुको आदान प्रदान गर्ने ।
४) एक–आपसमा परामर्श, प्रशिक्षण र शिक्षण सेवा प्रदान गर्ने ।
५) कार्यशालाहरूलाई व्यवस्थित गर्ने साथै कार्यक्रमहरूका लागि विशेषज्ञ र सहभागीहरू प्रदान गर्ने ।
६) आ–आफ्नो देशका ट्रेड युनियनसँग सम्बन्धित घटनाक्रम र विषयवस्तुका बारेमा एकअर्कालाई जानकारी गराउने ।
७) ट्रेड युनियनसँग सम्बन्धित अन्तर्राष्ट्रिय घटनाक्रम बारेमा परामर्श गर्ने, एकअर्कालाई जानकारी दिने साथै साझा मुद्दाहरूमा छलफल, सहकार्य र समर्थन गर्ने ।

दुबै संगठन आ–आफ्ना सामाजिक, आर्थिक जीवनका साथै देशको पछिल्लो घटनाक्रमको बारेमा एकअर्को पक्षलाई जानकारी दिन र अनुभव आदान–प्रदान गर्दै द्विपक्षीय सम्बन्ध विकास गर्न सहमत भएका छन् ।

तपाइको मत