अन्तर्राष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषी निलम्बित

१६ जेठ ०७६, काठमाडौं । निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधिन उक्त रंगशालाको तार बार बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले भत्काइ दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरिएको जानकारी गराएका छने भने अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाइ दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ ।

‘नेपाल सरकार, जिल्लाका सबै राजनीतिक पार्टी, भरतपुर महानगरपालिका लगायत सबैको सहयोग र सहानुभूति रहेको रंगशालाको निर्माणमा ठूलै हौसला बोकेर अगाडि बढेको धुर्मुस सुन्तली फाउण्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै –विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टी नेकपा चितवन साथ र सहयोगका लागि हरदम तयार रहेको प्रतिवद्धता जनाउन चाहन्छ ।’

त्यस्तै, स्थानीय केही व्यक्तिले डोजर लगाएर रंगशालाको बार भत्काएपछि बिहीबार आयोजित सर्वपक्षीय बैठकमा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कुनै हालतमा पनि दोषीले छुटकारा नदिने बताएका छन् । देशकै महत्वपूर्ण मानिएको उक्त रंगशाला निर्माणमा केही निहित स्वार्थका कारण विथोल्ने प्रयास गरेको भन्दै यस्ता प्रवृतिहरुलाई निरुत्साहित गरिने प्रजिअ बस्नेतले बताए ।

तपाइको मत