अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक २५ गते

२२ कार्तिक ०७४, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा  यहीँ  दोस्रो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ ।

शनिबार दशरथ रंगशालाको कभर्डहलमा दोस्रो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना नेपाल रिङ रेस्लिङ संघले  गरेको हो ।प्रतियोगिताका लागि विभिन्न देशका प्रतियोगीहरु आउने क्रम जारी रहेको र  आउन बाँकी रहेको विदेशी नौ जना प्रतियोगी शुक्रबारसम्म आइपुग्ने महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

श्रेष्ठले प्रतियोगितामा अन्तराष्ट्रिय क्षेत्रमै राम्रो प्रोफाइल बनाएका खेलाडी आउन खोजेपनि सबैलाई उपस्थित गराउन नसकिएको जानकारी दिइन् ।

प्रतियोगितामा विगतको भन्दा यो पटक दर्शकको सहभागिता झण्डै दोब्बर हुने श्रेष्ठले बताइन् ।  ‘गत वर्षको भन्दा यसपालीको प्रयोगिता आकर्षक र रोमाञ्चकारी छ’ उनले भनिन् ।

काठमाडौंको प्रतियोगितापछि कार्तिक २७ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता इटहरीमा हुने भएको छ । काठमाडौंका विजेता र उपविजेताबीच इटहरीमा अर्को भिडन्त हुने संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन् । विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न आठ देशका खेलाडीको सहभागिता रहनेछ ।

अमेरिकाका प्रोरेस्लिङ गेमर, सिंगापुरका दि युरासियन ड्रागन, अस्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, नील र माक्सम्यानको सहभागिता रहनेछ । नेपालबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी र ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी प्रतियोगिताको आकर्षणका रूपमा महिला रेस्लरहरू रहेका छन् । रसियाका मेफिस्तो, चेक रिपब्लिकका रोमाना तथा नेपालका सोफी र दिलासाको सहभागिता रहनेछ ।

नेपाल रिङ रेस्लिङ संघ राष्ट्रिय खेलकुद परिषद्‍मा पहिलोचोटी २०७३ फागुनमा दर्ता भएकाे थियाे । स‌ंघले प्रथम रेस्लिङ प्रतियोगिता गत वर्ष गरेकाे थियाे । रेस्लिङसम्बन्धी अन्य धेरै संघ स्थापना भएपनि यस्ता प्रतियोगिता गर्न सकेका छैनन्  ।

 

तपाइको मत