अन्तर्राष्ट्रिय समुदायलाई पुनर्निर्माणमा सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह

४ कार्तिक ०८२, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले स्विट्जरल्याण्डको जेनेभा जारी अन्तर व्यवस्थापिका संघको १५१औं सभालाई सम्बोधन गर्दै नेपालको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले नेपालमा गत भदौ २३ र २४ मो जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछु ।’

जेनेरेशन जेड (जेनजी) आन्दोलनको प्रसङ्ग जोड्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले समयमै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको पनि बताएका छन् ।

यस्तै जलवायु परिवर्तनबाट सिर्जित प्रकोप न्यूनीकरण प्रयासमा सबै पक्ष एकताबद्ध भई समस्या समाधानका लागि अघि बढ्नुपर्ने समेत अन्तर व्यवस्थापिका संघमा दाहालले बताएका छन् ।