अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको सकुशल उद्दार

७ पुस, दैलेख । अज्ञात समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।

शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै बेला शाहीलाई १०–१२ जनाको नकावधारी अज्ञात समूहले अपहरण गरेको थियो ।

शाहीकी पत्नी इला मल्ल शाहीले श्रीमानलाई हतियारधारी समूहले कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएपछि शाहीको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली खटिएको थियो ।

वडा नं. २ का वडाध्यक्ष रुपलाल विश्वकर्माकाअनुसार शाहीको अपहरण गर्ने समूहले उनलाई राखिएको घर परिवर्तन गर्न लागेको देखेकी एक महिलाले सुरक्षा निकायलाई सूचना दिएपछि सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेसँगै अपहरणकारीहरू शाहीलाई छोडेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका साथै  सशस्त्र प्रहरी बल, कालिकोट गुल्मका प्रमुख दिपेन्द्र कुँवरले यस घटनाको पुष्टि गरिसकेका छन् । ‘गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको सकुशल उद्दार भइसकेको छ’ गुल्म प्रमुख कुँवरले भनेका छन् ।

स्थानीयकाअनुसार घटनास्थलबाट सशस्त्र प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको दाबी गरे गुल्म प्रमुख कुँवरले केही बताएका छैनन् ।