अपहरणमा परेका भारतीय ब्यापारी मुक्त, अपहरणमा संलग्न ३ जना पक्राउ

भारतीय व्यापारी शारदाको सकुशल उद्दारपछि पत्रकार सम्मेलन गर्दै सप्तरी प्रहरी, दायाँतर्फ सार्वजनिक गरिएका ३ जना अपहरणकारीहरु ।

५ कार्तिक ०७४, राजविराज । सप्तरीको कंचनरुप नगरपालिका हटिया बजार क्षेत्रबाट गत आइतबार (असोज २९) अपहरणमा परेका भारतीय ब्यापारी अमित कुमार शारदा अपहरणमुक्त भएका छन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक डिल्ली बहादुर चौहानको कमाण्डमा खटिएको टोलीले शनिबार राती कंचनरुप नगरपालिका १२ स्थित अम्बर बहादुर मगरको घरमा अपहरणकारीले बन्धक बनाई राखेको अवस्थामा शारदाको सकुशल उद्दार गरेको हो ।

भारत विहार राज्यको सुपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा नं. १० निवासी कपडा ब्यवसायी ३३ वर्षीय शारदा ताकेताको शिलशिलामा कंचनरुप नगरपालिका आएका बेला अपहरणमा परेका थिए ।

शारदाको अपहरणमा संलग्न ३ जनालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका वार्ड नं. ४ बस्ने २८ वर्षीय अम्बरनाथ विश्वास, वडा ७ बस्ने २६ वर्षीय पशुपति भन्ने पुस्कर महतो र वडा ६ बस्ने २८ वर्षीय शैलेन्द्र गुप्ता छन् ।

उनीहरु पेशेवर अपराधी भएको तथा जिल्लामा यस अघि भएका आधा दर्जन अपराधिक घटनामा संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको एसपी मुकेश सिंहले बताए ।

प्रहरीले उनीहरुको साथबाट अपहरणको क्रममा प्रयोग गरिएको २ नाल कटुवा पेस्तोल २ थान र भारतीय DL 3CAA-8956 नम्बरको सेन्ट्रो कार समेत बरामद गरेको छ ।

भारतको भीमनगरमा चन्द्रिका बस्त्रालय पसल सञ्चालन गर्दै आएका शारदा परिवारसँग ३ करोड रुपैयाँ फिरौती असुल्ने र आपसमा एक–एक करोड रुपैयाँ बाडँफाँड गर्ने योजनासहित विश्वास, महतो र गुप्ताले अपहरण गरेको अनुसन्धानको क्रममा खुलेको पत्रकार सम्मेलन मार्पmत् एसपी सिंहले जानकारी दिए ।

अपहरण गरी शारदाको आफन्तसँग ३ करोड रुपैयाँ माग गर्ने र त्यसपछि एक–एक करोड रुपैयाँ आपसमा बाँड्ने सहमति सहित व्यापारी शारदाको अपहरण गरिएको अनुसन्धानका क्रममा खुलेको एसपी सिंहले बताए, ‘तर प्रहरी सक्रियताले उनीहरुको योजना बिफल बन्यो ।’

शारदालाई बन्धक बनाएर राखिएको घरका धनी अम्बर बहादुर मगर भने सम्पर्कमा आउन नसकेको र उनको खोजतलास भइरहेको एसपी सिंहले जानकारी दिएका छन् ।

भारतीय ब्यपारी शारदाको अपहरण भएको भोलीपल्टै आफन्तले भीमनगर थानामा उजुरी दिएका थिए । आफन्तले ब्यापारको शिलशिलामा नेपाल गएको र उतै बेपत्ता भएको बताएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई सहयोगका लागि अनुरोध गरेको थियो ।

अपहरणमुक्त ब्यापारी शारदाले आफूसँग भएको १ थान मोवाईल र १२ हजार भारतीय रुपैयाँ अपहरणकारीले खोसे पनि बाँच्न र मुक्त हुन सफल भएकोमा नेपाल प्रहरीप्रति आभार ब्यक्त गरे ।

तपाइको मत