९ असार, काठमाडौं । सरकारले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा १३ नेपालीको मृत्यु भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गर्दै काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक रुपमा ८ हजार ६ सय १४ जना र अवैधानिक रुपमा १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।
काबुल घटनामा मारिएका १२ जनाको शव बुधबार नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । उपचारका क्रममा मृत्यु भएका च्याङ्बा तामाङको शव शुक्रबार ल्याउने तयारी छ ।