अबको प्राथमिकता विकास र समृद्धि हो – ओली

१ फागुन ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल सकिएको बताएका छन् ।

मंगलबार महाशिवरात्रिको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै ओलीले अबको प्राथमिकता विकास र संमृद्धि भएको बताएका हुन् ।

‘हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ’, ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘अबको प्राथमिकता विकास र समृद्धि हो ।’

ओलीको निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्ने गरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका छन् ।

तपाइको मत