५ भदौ, काठमाडौं । शिक्षा मन्त्रालय अन्तर्गत पाठ्क्रयम विकास केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तकलाई मोबाइल एपमा सार्वजनिक भएको छ । विना विभागीय मन्त्री धनीराम पौडेलले पहिलो ‘पाठ्यक्रम दिवस’का अवसरमा आइतबार उक्त एप सार्वजनिक गरेका हुन् ।
पौडेलले ‘एप मार्फत् पुस्तक सफ्टवेयर विकास गरिनुले विद्यार्थीलाई अनिवार्य पुस्तकको ठेली बोक्नु पर्ने बाध्यताबाट मुक्त गर्ने ठानेको छु,’ भन्दै, ‘प्रविधिलाई शिक्षामा प्रयोग गर्ने प्रयास राम्रो सुरुवात हो र सकारात्मक रुपमा व्यवहारमा उतार्न जरुरी छ’ भन्दै मौलिक र जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने उल्लेख गरे । उनले मोबाइल एपमा पाठ्यपुस्तक उपलब्ध गराइएपछि अहिलेसम्म निजी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तकको भारी बोक्नु पर्ने तर सामुदायिकमा पढेकाले नपाउने अवस्थाको अन्त्य गरेको बताए ।
दिवसका अवसरमा केन्द्रले मुलुकको औपचारिक शिक्षामा विकास भएको पाठ्यक्रम तथा पाठ्यपुस्तकका बारेमा वृत्तचित्र निर्माण गरी सार्वजनिक गरेको छ । त्यसैगरी पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुका प्रदर्शनीको आयोजना गरेको छ । हरेक वर्ष पाठ्यपुस्तक छपाई ढिलो हुँदा विद्यार्थीले समयमा हात पार्न सकेका छैनन् । त्यही समस्यालाई मध्यनजर गरी केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तकलाई विद्युतीय माध्यमबाट पाठ्यसामग्रीको विकास गरिएको केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बताए ।
नेपालमा शिक्षा ऐन २०२८ सालमा जारी भएसँगै औपचारिक शिक्षाको जग बसेको थियो । त्यही वर्ष भदौ ५ गते पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण केन्द्र सरकारले स्थापना गरेको थियो । त्यही दिनलाई आधार मानेर आइतबार दिवसको आरम्भ गरेको हो ।