अमेरिकामा काला जातिका एक व्यक्तिको हत्या भएपछि विरोध प्रदर्शन जारी

एजेन्सी । संयुक्त राज्य अमेरिकामा गतहप्ता काला जातिका ४६ वर्षीय जर्ज फ्लोइडको हत्या भएपछि विरोध जनप्रदर्शनहरू जारी छ ।

गत सोमबार प्रहरी हिरासतमा एकजना काला जातिका नागरिकको मृत्युपछि अमेरिकामा सोको विरोधमा जारी छ । ट्रम्प प्रशासन हत्यामा संलग्नलाई कारवाही गर्न भन्दा पनि प्रदर्शनकारीहरुमाथि दमन गर्न थालेको बताइएको छ ।

प्रहरी हिरासतमा जर्ज फ्लायडको हत्या गरिएको एक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा एकजना प्रहरीले घुँडा टेकेर उनको घाँटी थिचिरहेका छन् । जर्ज आफूले स्वास फेर्न नसकेको र आफूलाई गाह्रो भइरहेको बताइरहेको देखिन्छ ।

जर्जको परिवारले हत्यारा र हिरासतमा राख्ने चारजना प्रहरीमाथि ज्यान मुद्दा हुनुपर्ने माग राखेका छन् ।

प्रहरी हिरासतमा काला व्यक्तिको हत्या गरिएको भिडियो सार्वजनिक भएसँगै अमेरिकीहरूले त्यसको विरोध गर्दै व्यापक प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रशासनले राजधानी वाशिंगटनलगायत ठूला शहरहरूमा रातको समयमा पनि कर्फ्यू लगाएको छ तर सडकमा प्रदर्शन रोकिएको छैन् ।

कोरोना महामारीको बीच पछिल्लो जनप्रदर्शनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप चिन्ता थपिदिएको छ ।

अमेरिकामा प्रहरीद्वारा काला जातिको हत्या भइरहेका घटनाहरु प्रशस्तै छन् । केही समयअघि केन्टुकीमा पनि एकजना काला जातिका नागरिकको यस्तै हत्या सार्वजनिक भएको थियो ।

प्रहरी रिपोर्टअनुसार जर्ज फ्लोइडलाई कालो धन प्रयोग गरेको आरोपमा प्रहरीले सोमबार सोधपुछका लागि घरबाट गिरफ्तार गरिएका थियो । त्यसपछि के भयो भन्ने कुरा अज्ञात छ । प्रहरीले यस घटनामा संलग्न चार प्रहरी डेरेक शाविन, टू थाओ, थोमस लेन र एलेक्जेण्डर भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले जर्जको घाँटीमा घुँडा राख्ने प्रहरी डेरेक भएको जनाएको छ ।
यस घटनालाई संयुक्त राष्ट्रका मानवअधिकार संगठनकी प्रमुख मिसेल ब्याचलेटले जर्जको मृत्युको भत्र्सना गरेकी छन् । उनले हत्यापछाडि नस्लीय विभेदको कारण लुकेको बताएकी छन् ।