अमेरिका-अफगानिस्तानमा सक्रिय तालिवान द्वन्द्व अन्त्य गर्न सहमत !

१० फागुन ०७६, काठमाडौं । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच शान्ति–सम्झौता गर्ने तयारी भएसँगै लामो समयदेखि अफगानिस्तानमा चलेको सशस्त्र द्वन्द्व अन्त्य हुने संकेत देखिएको छ ।

यही फेब्रुअरी २९ तारिखमा अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच शान्ति सम्झौता गर्ने तयारी भइरहेको जनाइएको छ ।

शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले एकअर्कालाई आक्रमण नगर्ने सहमति गरिसकेका छन् ।

यस बीचमा हुने घटनाक्रमका आधारमा औपचारिकरुपमा शान्ति सम्झौता गरेर १८ वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । अफगानिस्तानमा नेटोको १६ हजार सैनिक रहेको छ ।

अमेरिका–तालिवानबारे भएको पछिल्लो प्रगतिलाई रूसले पनि स्वागत गरेको छ ।