काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
अदालतले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अन्तरिम रोक लगाएपछि ट्रम्पले सीमामा कडाई गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहित इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।
अदालतले अमेरिकी सीमालाई सुरक्षित गर्ने काममा अवरोध गरेको आरोप लगाउँदै ट्रम्पले यदि केही भयो भने त्यसको जिम्मेवार न्यायाधीश र अदालती सिस्टमलाई दोषी ठहर्याउने बताए ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै सात देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, उनको प्रतिवन्धलाई अदालतले अन्तरिम रोक लगाएको छ । र, त्यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपील पनि अमेरिकी पुनरावेदन अदालतले खारेज गरेको छ ।













