अर्थमन्त्री खतिवडा राजीनामा दिएको २४ घन्टा नबित्दै काममा फर्किए

२२ फागुन ०७६, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा पदबाट राजीनामा दिएको २४ घन्टा नबित्दै काममा फर्किएका छन् ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनु केही घण्टा अघि मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।

‘मेरो कार्यकाल पनि त्यही हो, जबसम्म युद्ध जितिँदैन या कमाण्डरले फिर्ता आउ भन्दैन’, आफ्नो कार्यकालका सन्दर्भमा मन्त्री खतिवडाले भने, ‘तबसम्म मुलुकका गरिबी, अभाव, अन्यायविरुद्ध लडिरहने छु । त्यसै भएकाले यसको कुनै समय सीमा हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।