अल्पमतमा परे लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल

१८ असार ०७८, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।

शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले जनता समाजवादी पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकिने भन्दै राजीनामा दिएसँगै ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल अल्पमतमा परेका हुन् ।

रायमाझीले सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र पार्टीको समर्थन र सहयोगबिना आफू प्रदेश सरकारमा सहभागी हुन नसक्ने भएकाले संविधानको धारा १६९ को २ (क) बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी राज्यमन्त्रीबाट राजीनामा दिएको बताएकी छन् ।

केही समय अघिमात्रै विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि बैशाख १९ गते एकाएक राजीनामा दिएका पोखरेलले सोही दिन मुख्यमन्त्रीको सपथ लिँदै जनता समाजवादी पार्टी (जसपा)का तीन जनालाई मन्त्री र रायमाझीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

जसपाको प्रदेश सभामा ६ जना सदस्य रहेकोमा सन्तोष पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डेय उद्योग मन्त्री र विजय यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेकोमा सरकार बनाउन ४२ जनाको समर्थन चाहिन्छ । एमालेका ४१ जना सदस्य निर्वाचित रहेको लुम्बिनी प्रदेश सभामा अहिले ३८ जना सांसद छन् । दुई जनाको राजीनामा र दाङबाट निर्वाचित एमाले सांसद उत्तरकुमार वलीको दुर्घटनामा परी निधन भएपछि सोही क्षेत्रबाट निर्वाचित वलीकी पत्नी विमला वलीले समेत माओवादी पार्टी रोजेपछि एमालेको सांसद संख्या ३८ हुन पुगेको हो ।