२ असोज ०७४, काठमाडौं । मन्त्रिपरिषदले प्रदेश सभा निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदाय वा जातिको परिभाषा र पिछडिएको क्षेत्र निर्धारण तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ र ‘पिछडिएको क्षेत्र’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
यसैगरी असोज २८ देखि ३० गतेसम्म काठमाडौमा हुने गैरआवासीय नेपाली सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा राजदूत दुर्गा भण्डारीलाई हस्ताक्षर गर्ने अधिकार प्रत्यायोजन गरेको छ । आणविक अस्त्र निषेध सम्बन्धी सन्धीमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरिएको छ ।
अस्पतालहरुमा देखिएको लापरवाही नियन्त्रण गर्न सम्बन्धित चिकित्सकबाट क्षतिपूर्ति गराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको लागि दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।













