
५ कार्तिक ०८२, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई अवैध ढंगले अचानक पलाएको भन्दै सरकारका धाकधक्कुदेखि एमाले किञ्चित विचलित नहुने बताएका छन् ।
गतभदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी र तोडफोडको गरेपछि बालकोटस्थित जलेका घरका अवशेष र सामानहरू हेर्दै ओलीले यस्तो बताएका हुन् ।
“यो घर र यहाँका सबै सामान हामीले राष्ट्रका नाममा दिने भनेर राजीनामा पास गरिसकेका थियौं । यो हाम्रो निजी सम्पत्ति थिएन । राज्यकै सम्पत्ति थियो । हामी बाँचुञ्जेल मात्र यहाँ बस्ने भनेका थियौं,” उक्त घर आफ्नी श्रीमतीले ३३ वर्ष राष्ट्र बैंकको जागिर खाएर बनाएको स्मरण गर्दै उनले भने, “यो सरकारलाई म के भन्न चाहन्छु भने नेकपा एमाले ज्युँदो पार्टी हो । यस्ता अवैध ढंगले अचानक पलाएको सरकारका धाकधक्कुदेखि एमाले किञ्चित विचलित हुँदैन ।”

ओलीले पत्रकारहरूसँग कुरा गर्दै सरकारले जेन–जीका नाममा विभिन्न व्यक्तिलाई आफूविरूद्ध उकासिरहेको र आफूलाई पक्राउ गर्न जाहेरी दिने लगायतका गतिविधि गरेर व्यक्तिगत दुश्मनी देखाइरहेको टिप्पणी पनि गरे ।
आफू लगायत विभिन्न नेताका घरमा हमला गर्ने, संसद भवनदेखि सिंहदरबारसम्म जलाउने योजना पहिलेदेखि तयार भइरहेको उल्लेख गर्दै उनले गत चैत्र १५ गते पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जाऊँ, सिंहदरबार जाऊँ भनेर आन्दोलन गरेपनि त्यतिबेला असफल भएको तर अहिले परिस्थिति निर्माण गरेको दाबी गरे ।
आन्दोलकारीहरूले विभिन्न धातुका मूर्ति, उपहार सामग्री, काम लाग्ने चिज जति लुटेर लगेको तर काम नलाग्ने किताब चाहिँ आगो लगाएर जलाइएको बताए ।













