१७ असार, काठमाडौं । असार मसान्तभित्र नेकपा एमाले र माओवादी बिच भएको ९ बुँदे सहमतिको सफल कार्यान्वयन नभए नेकपा माओवादी केन्द्र वर्तमान सरकारबाट बाहिरिने र राष्ट्रिय सहमतीय सरकार नबन्ने अवस्था आए बहुमतीय नयाँ सरकार बन्ने भएको छ ।
नेकपा माओवादी केन्द्रको हेडक्वाटरमा रहेका एक नेताले हाकाहाकी डटकमलाई दिएको जानकारी अनुसार वर्तमान सरकारले नौ बुँदे सहमतिको कार्यान्वयन र मधेश आन्दोलनको जायज मागहरुलाई सम्बोधन नगरे असार महिनाभित्र ओली सरकार ढल्ने निश्चित छ ।
बैशाख २४ गते एमाले र तत्कालीन एनेकपा माओवादीबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन नभएपछि नेकपा माओवादी केन्द्रले आफ्नो आन्तरिक बैठकहरुमा सरकारको विकल्पबारे अनौपचारिक छलफल थालिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मधेशी जनता र भारतप्रति सकारात्मक नभएको भन्दै माओवादी केन्द्रका हेडक्वाटरमा रहेका एक सदस्यले भने, ‘ओली सरकारले दुई देशको सम्बन्धमा दरार ल्याएकाले राष्ट्रिय सहमतिको सरकार नबन्ने अवस्थामा पनि ओली सरकारलाई टिकाइराख्नु हुँदैन ।’
माओवादी केन्द्रको बैठकहरुमा सरकार परिवर्तनको एजेण्डा औपचारिक रुपमा प्रस्तुत नभएपनि अनौपचारिक रुपमा भने नेताहरुले सरकार परिवर्तनको मुद्दा उठाउने गरेको माओवादी केन्द्रका हेडक्वाटर सदस्य मणि थापाले समेत बताएका छन् ।
नौ बुँदे सहमति कार्यान्वयनको बारेमा एमालेसँग गम्भीर छलफल गर्ने भन्दै नेता थापाले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा एमालेसँग एकपटक गम्भीर कुरा गरेपछि सरकारको भविष्य के हुने भन्ने प्रष्ट हुन्छ ।’
स्रोत भन्छ– ‘एमालेले राष्ट्रिय सहमतीय सरकारका लागि माओवादी केन्द्रलाई समर्थन नगरे नेकपा माओवादी केन्द्रको पहलमा आन्दोलनरत मधेशवादी दल साथै नेपाली काँग्रेस लगायतका दलहरुको संयुक्त सरकार बन्छ ।’