असार १ गतेदेखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने !

२१ जेठ ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने योजना बनाइएको बताएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि बैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैत मसान्तभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको बताएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमै रहे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिने गरी सरकारले तयारी गरिरहेको उनले बताए ।

उनले असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जनजीवन सामान्य नहुँदासम्म सञ्चालन गरिने पनि जानकारी दिए ।

यस विषयमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन)ले अभिभावकसँगको समन्वयमा बैकल्पिक अध्ययन गराउने विद्यालयले कुनै न कुनै हिसाबले शुल्क लिनुपर्ने बताएको छ । साथै, उसले केही महिना कक्षा कोठामा ल्याएर भौतिक दूरी कायम गरेर पढाउन सकिने अवस्था नरहेको जनाएको छ ।