६ चैत्र ०७४, काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गराउन आन्तरिक परीक्षाको तयारीमा जुटिरहेका बेला असन्तुष्ट शिक्षकले पुनः आन्दोलन थालेका छन् ।
विगतको सहमति र रोजगारीको हकअनुसार कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी गराउने गरी विज्ञापन नगरिएको जनाउँदै अस्थायी शिक्षक संघर्ष समिति र पुनरुत्थान समूह नेपालले आजदेखि पुनः आन्दोलन थालेका हुन् ।
आयोगले शिक्षा ऐन, २०२८ को नवौँ संशोधन बमोजिम यही चैत २३ का लागि परीक्षा तोकी तयारीका अधिकांश काम पूरा गरेको छ ।
नेपाल शिक्षक महासंघ र संघर्ष समितिसँग गत असार ९ मा भएको सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गर्न भदौ ३ मा तोकिएको परीक्षा स्थगन भएको थियो ।
आयोगले नवौँ संशोधनको व्यवस्थामा टेकेर कूल दरबन्दीको ७५ प्रतिशतमा आन्तरिक परीक्षा गर्न लागे पनि आन्दोलनकारीले शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको विद्यमान संख्याभन्दा कमलाई देखाएर परीक्षा खोलेको उनीहरुले आरोप लगाएका छन् ।
आठौँ संशोधनले परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने भनेकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा र औषधोपचार थप्ने तथा ७५ प्रतिशत दरबन्दीमा आन्तरिक परीक्षा लिने व्यवस्था गरेको छ ।
आयोगका अनुसार हाल कार्यरत करिव २४ हजार अस्थायी शिक्षकमध्ये २३ हजार २८६ ले आन्तरिक परीक्षाका लागि आवेदन दिएका छन् । बाँकी २५ प्रतिशतमा खुला विज्ञापन हुनेछ ।
अस्थायी शिक्षक संघर्ष समितिका महासचिव कुमोद कर्णले हाल करिब ३६ हजार अस्थायी शिक्षक रहेकाले हाल तोकिएको परीक्षा स्थगन गराउन मंगलबारदेखि भद्रकालीमा अनसन शुरु गरिएको जानकारी दिए ।
अस्थायी शिक्षकले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले चैत २३ को परीक्षा कानूनी रुपमा पनि गर्न नमिल्ने जिकिर गरेका छन् ।
‘अस्थायीमा कार्यरत तर शिक्षक प्रमाणपत्र र तालीम नभएका र लियन पदमा रहेका शिक्षकलाई आयोगमा परीक्षामा आवेदन दिनबाट समेत वञ्चित गरिएकाले त्यस कार्यबाट शिक्षकको रोजगारीको अधिकार हनन हुने भएकाले’ परीक्षा सार्नुपर्ने तर्क अधिवक्ता कोषराज काफ्लेको छ ।
अस्थायी शिक्षक शरद मिश्रले सर्वोच्च अदालतले २०६६ माघ २४ मा कार्यरत सबै शिक्षकलाई परीक्षा लिई स्थायी गर्न दिएको परमादेश लागू नगरी विभिन्न सम्झौता र शिक्षा ऐन संशोधन गरी परीक्षा तोकिनु संविधान विपरीत भएको जनाउँदै माग पूरा नभएकाले कडा आन्दोलन गरिने चेतावनी दिए ।
आन्दोलनकै भरमा परीक्षा रोक्दैनौं-आयोग
अस्थायी शिक्षकको लागि निर्धारण गरिएको परीक्षा नसार्न र नरोक्न आग्रह गरेको छ । चैत २३ गतेको लागि तोकिएको परीक्षाको सबै प्रक्रिया र तयारी सकिएको भन्दै कुनै हालतमा परीक्षा नसार्ने शिक्षक सेवा आयोगले जनाएको छ ।
शिक्षकको परीक्षा रोक्नको लागि केही शिक्षकहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् । तर, शिक्षा सेवा आयोगका प्रशासकीय प्रमुख तुलसी प्रसाद थपलियाले भने परीक्षा नसार्ने अडान लिए ।
परीक्षाका लागि मुलुकभरका १ सय १६ परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिकाको व्यवस्थापनको काम भइरहेको प्रशासकीय प्रमुख थपलियाले जानकारी दिए ।
परीक्षा काठमाडौं, पोखरा, नेपालगञ्ज, कञ्चनपुर र झापा गरी पाँच वटा स्थानमा परीक्षा केन्द्र तोकिने उनले बताए । प्रावि, निमावि र मावि तहको २२ हजार ७६ पदका लागि २३ हजार ३ सय अस्थायी शिक्षक प्रतिस्पर्धामा छन् ।
२०४९ साल पुस २० भन्दा अघि, २०४९ पुस २१ देखि २०६१ साउन २१ सम्म र २०६२ साउन २२ देखि७२ असोज २ सम्म ३ चरणमा नियुक्त भएका शिक्षकका लागि छुट्टा छुट्टै प्रतिस्पर्धा गराइने तयारी भएको प्रमुख थपलियाले बताए ।
आयोगका उपसचिव भरत श्रेष्ठले आफूहरुले शिक्षा मन्त्रालयले दिएको नियम र विवरणका आधारमा परीक्षाको व्यवस्थापन गर्न लागेकाले परीक्षा स्थगन नहुने जनाए । शिक्षाविद्ले भने सबै दरबन्दीमा खुला परीक्षा हुनुपर्ने जनाउँदै आएका छन् ।













