५ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आइतबार रविराज बसौलाको ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् ।
सञ्चारमन्त्री कार्कीले विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो भन्दै यसलाई रचनात्मक बनाउनु पर्ने र विद्यार्थीलाई अप्ठेरो प्रश्न सोधेर असफल बनाउन नहुने बताए ।
‘अबका बालिबालिकाले बन्दुक उठाउन नपरोस्’ भन्दै मन्त्री कार्कीले समाजको विषमता हटाउन कलमको आवाज र चेतनाको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कृतिको विमोचन कार्यक्रममा सूचना तथा सञ्चार सचिव दिनेश थपालिया, विनय कसजू, गीता त्रिपाठीलगायतले बालबालिकाको समस्यामाथि समाजको ध्यान आत्कृष्ट गराउन कृति महत्वपूर्ण हुने बताए ।
‘बालमैत्री’ नामक कृतिको लेखक रविराज बसौलाले बालमैत्री नीति, संरचना र पूर्वाधारको खाँचो रहेको बताए ।