२५ असोज ०७४, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेकपा माओवादी केन्द्र र एमालेबीच भएको चुनावी तालमेलसँगै पार्टी एकता संयोजन समिति गठन प्रक्रियालाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली काँग्रेस नेता समेत रहेका मन्त्री थापाले माओवादी केन्द्र र एमालेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका हुन् ।
‘काँग्रेस वाम एकता देखेर टसको मस भएको छैन्, यस्ता पवित्र–अपवित्र गठबन्धन कांग्रेसले धेरै भोगिसकेको छ,’ मन्त्री थापाले भने, ‘हामीले यस्ता गठबन्धन पार गरेका छौं, अहिले गृहकार्य भइरहेको वाम गठबन्धन अप्राकृतिक छ ।’
राष्ट्रिय सभाको निर्वाचनको लागि एमाले र माओवादी केन्द्रले एक स्वरमा विरोध जनाइरहेका भन्दै मन्त्री थापाले भने, ‘राष्ट्रपतीय प्रणालीमा उभिने आन्तरिक सहमति भएको सुनिँदैछ, यो लोकतन्त्र माथिको प्रहार हो ।’
मंसिर १० गतेको निर्वाचन मिति फेरबदल हुनसक्ने
मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन मिति केही कारणले फेरबदल भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका छन् ।
साक्षत्कारमा बोल्दै मन्त्री थापाले विकसित राजनीतिक घटनाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने संकेत गरे ।
५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने भन्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेकाले प्रतिपक्षले त्यसमा विवाद झिक्नु आवश्यक नहुने बताए ।
केन्द्र र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारको गतिविधिलाई साथ दिन र शंका नगरी सहयोग गर्न आग्रह गरे ।













