१० असार ०७४, उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी केन्द्रले माेर्चाबन्दी गरे पनि एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।
शनिबार उर्लाबारी नगरपालिकाको सभालाई सम्बोधन गर्न पुगेका ओलीले कांग्रेसले एक्लै केही गर्न नसकेपछि मोर्चाबन्दी गरेको बताए ।
ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्तीविरुद्ध स्यालहरुको बथानको संज्ञा दिए ।
ओलीले भने, ‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएका छन् तर, एमालेसँग प्रतिस्पर्धा गर्न भने सम्भव छैन । अब जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तीको सिकार गर्न सक्दैन, सिकार त के, हात्तीको छेउमा आउन पनि सक्दैन, पर-परबाट कराउने मात्रै हो ।’
तर, रोचक के छ भने रोल्पामा एमालेले कांग्रेससँगै मिलेर माओवादी केन्द्रविरुद्ध मोर्चाबन्दी गरेको छ ।
पहिलो चरणको चुनावमा पनि केही ठाउँमा कांग्रेस र एमालेको मोर्चाबन्दी भएको थियो भने काठमाडौं र ललितपुरमा एमालेले राप्रपासँग मिलेर कांग्रेसविरुद्ध मोर्चाबन्दी गरेको थियो ।