२२ भदौ ०७४, काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले आफ्नो आंगिक क्याम्पस महाराजगञ्जमा यो शैक्षिक सत्रदेखि ब्याचलर इन डेन्टल साइन्स (बिडिएस) कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
आइओएमले महाराजगञ्ज चिकित्सा क्याम्पसमा बिडिएसको कार्यक्रम पहिलो पटक सुरु गर्न लागेको हो । सन् १९७८ देखि आइओएमले एमबिबिएस कार्यक्रम सुरु गरेको थियो ।
आइओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले बुधबार बसेको फ्याकल्टी बोर्डको बैठकले बिडिएस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए ।
‘यो अर्को उपलब्धि हो,’ उनले भने, ‘चालू वर्षका लागि विद्यार्थी भर्नाको कार्यक्रम समेत सार्वजनिक गरिसकेका छौं ।’ उनका अनुसार, यो वर्ष बिडिएसका लागि क्याम्पसलाई २५ वटा सिट निर्धारण गरिएको छ ।
यसअघि एमडिएस कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले निकै लामो प्रयासपछि बिडिएस कार्यक्रम सुरु गरेको डेन्टल विभागका प्रमुख डा वसन्त श्रेष्ठले बताए । यो कार्यक्रम सुरु गर्न सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए ।
बिडिएस अध्ययन गर्न चाहनेका लागि असोज २८ र २९ गते प्रवेश परीक्षा लिनेछ । विद्यार्थीले भदौ २२ देखि असोज १९ गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।