८ पुस, काठमाडौं ।
नेपालको नयाँ संविधानलाई स्वागत नगरेर अघोषित नाकाबन्दी गरेको भारतले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले ३ बुँदे प्रस्ताव पारित गरेसँगै उक्त प्रस्तावको स्वागत गर्दै सीमा नाकाहरु खुकुलो बनाएको छ । सुनौली भन्सारबाट तीन दिनयता मात्र ५१ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अब काठमाडौंमा तिहारपछि सुस्ताएको ग्यासको वितरण तीव्र हुने जानकारी दिए ।
यसैबीच भारतीय आय कर्पाेरेशन (आइओसी)का डिपोहहरुले नेपाल आयल निगमले मागेजति तेल दिन सुरु गरेका छन् । मेची नाकापारि रहेको आइओसीको सिलगुढी, बरौनी, बेतालपुर, गोन्डा र बनथरा डिपोले मागेजति इन्धन दिन सुरु गरेको आयल निगमले जनाएको छ । वीरगञ्जमा मधेसी मोर्चाको धर्ना जारी रहेकाले रक्सौल डिपोबाट भने तेल आयात गर्न सकिएको छैन ।