
७ कार्तिक ०७४, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ‘आईजीपी’ प्रकाश अर्यालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका छन् ।
माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा आईजीपी अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । साथै, माओवादी नेता ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरीभित्र उच्चस्तरीय टाक्सफोर्स गठनको आदेश पनि माग गरिएको छ ।
२०७३ चैत ३१ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका माओवादी नेता ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो ।













