आईसीसीले यसकारण नेपाल क्रिकेट संघलाई निलम्बन ग-यो

१३ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले यूएईमा सम्पन्न मिटिङले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको छ ।

आधिकारिता विवाद अदालतमा रहेको र क्यान नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

आईसीसीको आफ्नै पहलमा हालै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा हुँदा खेलका लागि नेपाल आएका आईसीसीका ग्लोबल डेभिलोपमेन्ट म्यानेजर जेम्स एण्डरसनले दुबै पक्षसँग छलफल गरेर मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेपछि नेपालले पाउँदै आएको सबै सहयोग रोक्का हुनेछ । आईसीसीले क्रिकेट संघले नै क्रिकेट विकासको काम गर्नु पर्ने भन्दै उसले यसमा सरकारी हस्तक्षेप मान्य नहुने बताएको छ । साथै, उसले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने संकेत गरेको छ ।

तपाइको मत