१ असार ०७७, अछाम । सुदुरपश्चिम प्रदेशको अछाम जिल्लास्थित बलयपाटा अस्पतालबाट निश्कासित मजदुरहरुलाई नियमित काममा फर्काइएको छ ।
अस्पताल व्यवस्थापनले केही हप्ता अघि ३३ जना मजदुर निश्कासन गरेपछि आन्दोलनमा रहेका एक श्रमिक सिद्धार्थ आउजीले आत्मदाह गरेसँगै अस्पतालले आउजी परिवारलाई रोजगारी र अन्य ३२ जना मजदुरलाई काममा फर्काउने सहमति गरेको हो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले बयलपाटा घटनाको घोरभत्र्सना गर्दै दोषीमाथि कार्वाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिसँगै रोजगारी र निश्कासित सम्पूर्ण श्रमिक कर्मचारीहरुलाई जागिरमा फिर्ताको माग गर्दै आन्दोलन अगाडि बढाएको थियो ।
अन्टुफ सुदुरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष जगदिश सेटीले भने, “अस्पतालले सिद्धार्थ आउजीको परिवारलाई ५ लाख क्षतिपूर्तिसहित अस्पतालमै रोजगारी दिने, निश्कासित सम्पूर्ण श्रमिक कर्मचारीहरुलाई जागिरमा नियमितता दिने सहमित भएको छ ।”
अछामको बयलपाटा अस्पतालले गतजेठ १२ गते कामबाट निकालिएको पत्र थमाएपछि साँफेबगर नगरपालिका वडा नं ६ का २७ वर्षीय सिद्धार्थ आउजीले जेठ २६ गते अस्पताल परिसरभित्रै आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाह गर्दा उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त घटनाका विषयमा अखिल नेपाल स्वास्थ्यकर्मी संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ साथै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायत संघ संस्थाले घटनाका दोषीलाई कारवाही गर्नु पर्ने, पीडितलाई क्षतिपूर्ति र निश्कासित कर्मचारीलाई पुनर्वहाली नगरे अस्पतालले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको थियो ।