आजदेखि सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

१ साउन ०८०, काठमाडौं । सरकारले नेपालमा आजदेखि सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले दिएको जानकारी अनुसार ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएपछि आज (साउन १ गते)देखि सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको हो ।

सूचना तथा प्रशारण विभागले उपभोक्ताको हितका लागि ल्याइएको शुल्कको प्रावधानलाई वितरकले बेवास्ता गरेपछि च्यानल बन्द गर्नुपरेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लोपटक असार १७ गते वितरकहरुलाई उपभोक्ताले जति च्यानल हेर्छन् त्यति नै बापतको शुल्क मात्र लगाउन पाउने गरी असार २८ गतेभित्र दररेट प्रस्ताव गर्न ताकेता गरेको भएपनि वितरकले कार्यान्वयन गर्न अस्वीकार गर्दै आइरहेका थिए ।

सरकारले २०७९ सालमै च्यानलको शुल्क प्रणालीमा सुधार गरी ‘आला कार्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो ।